काठमाडौं । आज २६औं भूकम्प दिवस । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ चन्द्रागिरिमा आज विशेष भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुनेछ । चन्द्रागिरि नगरपालिका वडा नं. १४स्थित नैकाप फुटबल मैदानमा विशेष कार्यक्रमको आयोजना हुनेछ । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले विहान साढे १० बजेबाट सुरु हुने २६औं भूकम्प सुरक्षा र्यालीमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । साथै नैकापको फुटबल ग्राउण्डमा दुई दिनसम्म आयोजना हुने भूकम्प सुरक्षा प्रदर्शनीको अवलोकन गर्न पनि आग्रह गरेको छ ।

दिवस गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा कार्यक्रम आयोजना हुनेछ । दिवसको मुख्य कार्यक्रम चन्द्रागिरि नगरपालिका हुनेछ । चन्द्रागिरिमा हुने दुई दिने समारोहको अध्यक्षता चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले गर्नुहुनेछ । समारोह आज दिउँसो १ बजेबाट सुरु भई दुई दिनसम्म संचालन हुनेछ । समारोहको दोस्रो दिन भूकम्प प्रतिरोधी घर आवासका प्रतिकात्मक प्रदर्शनी हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिनुभएको छ ।

वि सं. १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको स्मरण गर्दै प्रकोपको पूर्व तयारीदेखि पूनर्वाससम्ममा गम्भीर हुन वि.सं. २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय