काठमाडौं । पोखरामा सम्पन्न टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा चन्द्रागिरि न्यू डायमण्डले उप विजेतामा चित्त बुझाएको छ । शनिबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिकाको न्यू डायमण्ड महिला टिमलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधिमाथि ह्याट्रिक गरेको हो । एपिएफले न्यु डायमन्डलाई २५–२०, २५–१८, २५–२१ को सोझो सेटमा हराएको हो । उपाधिसगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको न्यू डायमन्डले २ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
खेलाडीमा उत्साह भर्न चन्द्रागिरि नगरपालिकाको टोली नै पोखरा पुगेको थियो । पोखरा रंगशालामा चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद खड्गी, वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईटेलसहित अन्य वडाध्यक्षले खेलाडीलाई उत्साहित बनाइरहे ।



चन्द्रागिरि नगरपालिकाले गत महिनादेखि न्यूडायमण्डलाई प्रायोजन गर्न थालेको हो । विगतमा पनि खेल सामग्री, मेडिकल उपकरण, प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको थियो । तर यस वर्षदेखि न्यू डायमण्ड महिला भलिबल क्लबलाई नगरपालिकाले आफ्नो ‘अफिसियल क्लब’ बनाएको छ । खेलपश्चात चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको प्रतियोगितामा ‘चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिम’को नामसहित न्यू डायमण्डले सहभागिता जनाउने जानकारी दिनुभयो । चन्द्रागिरि न्यू डायमण्ड क्लबका प्रशिक्षक कुमार राईले उपाधि चुम्ने सपना यस वर्ष पूरा नभए पनि निरास नभएको बताए । खेलाडीको प्रदर्शन र त्यसमा पनि नयाँ खेलाडीको खेलले अझ आत्मविश्वास बढेको राईको भनाइ छ । सिनियर केही खेलाडीको चोट र नयाँ खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न नसक्दा पराजय भोग्नुपरेको उनको भनाई छ ।



