काठमाडौं । चन्द्रागिरि नगरपालिकाको गणेशमान राजमार्गलाई सरकारले ७ करोड ९९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
उक्त सडकमा बारम्बार दुर्घटना हुँदा पनि तीनै तहको सरकारले बाटो निर्माणका कुनै चासो नदेखाएको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो । दुर्घटना लगत्तै मकवानपुरका नेताहरुले प्रधानमन्त्री पुष्पमकल दाहाललाई भेटी सडक स्तरोन्नतीको लागि बजेट माग गरेका थिए । राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण विडारी, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी, थाहा नगरपालिकाका प्रमुख र इन्द्र सरोबर गाउँपालिकाका अध्यक्षले उक्त सडकको समस्या समाधानका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सोही भेटमा प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा नै बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।



चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित सेतो पहरामा बारम्बार गाडी दुर्घटना हुन थालेपछि बाटो स्तरोन्नतीको लागि भन्दै सरकारले बजेट विनियोजन गरेको हो । पछिल्लो समय यो बाटोमा काठमाडौंबाट चित्लाङ जाँदै गरेको निजी कार दुर्घटना हुँदा ५ जना, २०८० साउन १२ गते मारुती भ्यान दुर्घटना हुँदा २ जना र सोही सडक खण्डमा डोजर र मोटरसाइलक दुर्घटना हुँदा थप दुई जना गरी अहिलेसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।
बजेट विनियोजन भएसँगै अब उक्त सडकमा ग्याबिन वाल, साइड ड्रेन र कालोपत्रे गरिने छ । सडक निर्माणको काम भने टेण्डर प्रकृयाबाट हुने थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार बलामीले OUR NEWS CREW लाई जानकारी दिनुभयो ।



