काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कदमले गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाएको बताउनु भएको छ ।
नेपाल टेलिभिजनको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले जनतामा आशा जगाएको बताउनु भयो । राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको बताउँदै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतालाई थप आशावादी बनाएको दाबी समेत गर्नुभयो ।



उहाँले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



