काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गणेशमान राजमार्गस्थित थानकोट चित्लाङ सडक खण्डको अनुगमन गर्नुभएको छ ।




मन्त्री ज्वालाले अनुगमनको क्रममा सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्ने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकोले कानूनी प्रक्रिया यथासक्दो चाडो पुरा गरी काम सुरु गर्न निर्देशन दिनुभयो । उहाँले यस सडकमा २ करोडको ठेक्का सम्झौता भई काम भईरहेको र बाँकी ८ करोडको स्रोत सहमति भैसकेको सरोकारवालाई जानकारी समेत दिनुभयो । उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्रे गरिने छ । अनुगमनमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको सहभागिता रहेको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ स्थित सेतो पहरामा बारम्बार गाडी दुर्घटना हुन थालेपछि बाटो स्तरोन्नतीको लागि भन्दै केन्द्रीय सरकारले ७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । पछिल्लो समय यो बाटोमा काठमाडौंबाट चित्लाङ जाँदै गरेको निजी कार दुर्घटना हुँदा ५ जनाको ज्यान गएपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

दुर्घटना लगत्तै मकवानपुरका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सडक स्तरोन्नतीको लागि बजेट माग गरेका थिए । राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण विडारी, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी, थाहा नगरपालिकाका प्रमुख र इन्द्र सरोबर गाउँपालिकाका अध्यक्षले उक्त सडकको समस्या समाधानका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सोही भेटमा प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा नै बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको थियो । साथै भूकम्प दिवसको दिन चन्द्रागिरि नगरपालिकाको नैकापमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त सडकको लागि बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।



