उच्च हिमाली जिल्लाहरूमा आज हिमपात भएको छ ।
मुगु, हुम्ला, जुम्ला र डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतीक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । माघ महिलना वित्न लागिसक्दा पनि हिउँ नपर्दा किसान यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर, हिमपातले किसानलाई आशा जगाएको छ ।



यता, नेपालकै ठुलो र गहिरो ताल रारामा करिव एक फिट हिउँ परेको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार विशेष गरि रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको हो । मुगुको मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक, तलिलेक, सोरूकोट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको छ ।
माघ महिनाको तेस्रो हप्तामा भएपनि हिमपात शुरू भए पछि खेतीपाति गर्ने कृषक लगायत स्थानिय बासीन्दा हरूलाई राहत मिलेको स्थानीयको भनाई छ । लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधी फैलिनुका साथै खोलानाला र पानीका मुहान समेत सुकेका थिए ।
जताततै सुख्खा मौसमले भाईरल रूघाखोकीका बिरामीहरूको संख्या पनि बढ्दै गएको थियो । यो हिमपातले मुगुलगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठूलो राहत पुगेको छ ।



