काठमाडौं । नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खलामा क्लीन स्वीप गरेको छ । नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा लक्ष्य पूरा गर्यो ।
अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसंगै शानदार जित हात पारेको हो । ओपनर अनिलले १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा अविजित रहे भने १२९ बल खेलेका भीम ११ चौका र १ छक्कासहित १०१ रनमा अविजित रहे । यसअघि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भए । नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको थियो भने र दोस्रो खेल ४ विकेटले जितेको थियो ।



त्यस्तै नेपालले फागुन ३ गतेदेखि नामिबिया र नेदरल्यान्ड्ससँग आइसीसी लिग २ खेल खेल्दैछ । त्यसलगत्तै नेपालले,नामिबिया र नेदरल्यान्ड्ससँगै टी–२० सिरिज खेल्नेछ ।



