बारा- नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार्किङ्गमा समस्या देखिएको छ । इन्धन लिन देशभरबाट दैनिक सयौँको संख्यामा आउने ट्याङ्करहरुको पार्किङ्गमा समस्या भएको हो । २०७६ भदौ २४ गतेदेखि पाइपलाइनबाट डिजल आयात हुन थालेपछि निगमको अम्लेखगञ्ज डिपोबाट हुने बिक्री बाहेक पनि विराटनगर, जनकपुर, भैरहवा, पोखरा तथा काठमाडौँसम्मका कार्यालयहरुका लागि आवश्यक डिजल अम्लेखगञ्जबाट लोड भएर जाने गर्दछ । हाल डिजल बोकेका ३ सय ट्याङ्कर दैनिक निगमको अम्लेखगञ्ज डिपोबाट छुट्ने गर्दछन् ।
पछिल्लो समय मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम धमाधम भइरहेकाले केही महिनाभित्र पाइपलाईनबाट पेट्रोल र मट्टीतेलसमेत आउँछ । जसका कारण ट्याङ्कर पार्किङ्गमा झनै ठुलो समस्या हुने देखिन्छ । आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख इन्जिनियर विनितमणी उपाध्यायले निकट भविष्यमै डिजल र पेट्रोल लिन दैनिक ठुलो संख्यामा ट्याङ्करहरु अम्लेखगञ्ज आउने भएकाले अहिलेकै ठाउँमा पार्किङ्ग सम्भव नहुने बताए ।



निगमलाई पेट्रोलियम ट्याङ्कर पार्किङ्गमा अहिले नै धेरै समस्या भएको छ, अब केही महिनापछि पाइपलाइनबाट पेट्रोल आउन थालेपछि झनै गाह्रो हुने उपाध्यायले बताए । उनका अनुसार जग्गाको व्यवस्थापन गरिदिन निगमले जीतपुरसिमरा महानगरसँग लिखित र मौखिक रुपमा पटक पटक अनुरोध पनि गरेको र यो विषयमा एक पटक छलफल पनि भएतापनि कुनै टुङ्गो लाग्न नसकेको बताए ।
निगमले उपमहानगरलाई पत्र पठाएर अम्लेखगञ्जमा ३ देखि ४ बिघा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ । हाल आयल निगम अम्लेखगञ्ज डिपोको दक्षिणपट्टी रहेको करिडोरमा पार्किङ्ग गरिरहे पनि पछि नयाँ निर्माण भएको डिपोसम्म आउन–जान यही करिडोर प्रयोग गर्नुपर्ने भएकाले ट्याङ्कर पार्किङ्गका लागि समस्या हुनसक्ने निगमको जिकिर छ ।
जीतपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले निगमको ट्याङ्कर पार्किङ्गका लागि जग्गा खोजी भइरहे र यस बारे वडा नं २१ र २२ का वडाध्यक्ष संग खाली सरकारी जग्गाको बारेमा छलफर भईरहेको बताए ।
निगमले सो पत्रको बोधार्थ निगमको केन्द्रीय कार्यालय काठमाडौँ, इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभाग, जीतपुरसिमरा वडा नं २१ र २२ मा पनि पठाएको छ ।हाल पेट्रोलियम पदार्थ लोड भएका वा खाली ट्याङ्करहरु अम्लेखगञ्ज आसपासका स्थानीयहरुको घरआँगन, सडक, पेटीमा पार्किङ्ग हुँदै आएको छ ।
अति प्रज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरु यसरी जथाभावी पार्किङ्ग गर्दा जुनसुकै बेला ठुलो दुर्घटना निम्तिन सक्ने देखिन्छ ।हाल दैनिक २५० देखि ३ सय वटा ट्याङ्कर अम्लेखगञ्जमा आवतजावत गर्दछन् ।




