झापा – मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भई बिर्तामोड नगरपालिका ६ बुटाबारीमा बस्दै आएका २७ वर्षीय योगेश भनिने बालकुमार मगर छन् ।
मगरलाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । चोरिएका आठवटा मोटरसाइकलसहित प्रहरीले मगरलाई सार्वजनिक गरेको हो । मोटरसाइकल चोरी गरी बेचबिखन गर्दै आएका मगरलाई पाँचथरको हिलिहाङबाट पक्राउ गरिएको झापा प्रहरीप्रमुख एसपी मिलन के.सी.ले जानकारी दिए ।



प्रहरीका अनुसार झापाबाट हराएका ती मोटरसाइकल ताप्लेजुङका विभिन्न स्थानमा फेला पारिएको हो । झापाबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङ लगेर ३५ देखि ५० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको मगर पक्राउ परेपछि प्रारम्भिक अनुसन्धानबाट खुलेको झापा प्रहरी प्रमुख के.सी.ले बताए । त्यहाँ मोटरसाइकल बिक्री गरेर मगरले रकम बिर्तामोडको आइएमइमा पठाउने र गिरोहका अन्य व्यक्तिले निकाल्ने अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अहिलेसम्म झापा प्रहरीमा एक सय बढी मोटरसाइकल हराएको र चोरी भएको जाहेरी परेको जनाइएको छ ।



