सिरहा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेकाछन् । सिरहा नगरपालिका–१३ मल्हनीयादेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान (बहुतरी) झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेकाछन् ।
सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान (बहुतरी) झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएकाछन् । मधेसको विकास नभईकन देशको विकास नहुने उनले बताए । उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । “अब संघीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउने बताए ।
प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए । निर्माण सम्पन्न भएको पुलले सिरहा–धनुषाका जनतालाई राहत पु¥याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।
नेपालकै लामो भनिएको यो पुल सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरअन्तर्गत निर्माण भएको हो । विसं २०७८ फागुन २७ गतेको बोलपत्रअनुसार सपना, उमा एण्ड कम्पनी, थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको थियो ।
सो कम्पनीसँग विसं २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार विसं २०८१ असार मसान्तसम्म पुल निर्माण गरिसक्नुपर्ने शर्त थियो । सोहीअनुसार विसं २०७९ मंसिर २ गतेबाट पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा करिब ६ महिना अगावै सम्पूर्ण कार्यसम्पन्न गरिएको कम्पनीका प्रतिनिधीले जानकारी दिए ।
भ्याट बाहेक २१ करोड ५१ लाख १० हजार ७ सय ५३ रुपैयाँ लागत रहेको छ । यो पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर लामो र एक दशमलव दुई मिटर चौडाइछ । यसअघि सबैभन्दा लामो भनिएको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकाली नदिमाथि बनेको दोधारा चाँदनीको झोलुङ्गे पुलको लम्बाई एक हजार चार सय ५३ मिटर लामो छ ।
पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ । पुलमा ३ हजार ८ सय ८६ पैदल यात्रीको भार क्षमता रहेको छ ।



