काठमाडौं । आन्दोलनरत दुग्ध किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि विकास मन्त्रालयका सचिवबीच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो ।

दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकमलाई निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीले २०८० साल चैत्र २१ सम्म गर्ने सहमतिमा उल्लेख छ ।

केन्द्रीय दुग्ध सहकारी संघ नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरेवापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समयदेखि नपाएकाले उक्त रकमको भुक्तानीको माग गर्दै दुग्ध उत्पादक कृषकहरूले फागुन ८ गतेदेखि आन्दोलन गरिरहेका थिए ।

त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाइ मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ । दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरू नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतिमा उल्लेख छ । यस्तै पशुपालक कृषकलाई सरकारले दिँदै आएको कृषि तथा पशुपंछी बीमा कार्यक्रमलाई पनि निरन्तरता दिने सहमित भएको छ ।
सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय