काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौं दहचोकस्थित घर कुन स्रोतले बनेको हो भन्दै स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद केसीले दश वर्षअघि डेरामा बसेका पूर्वउपराष्ट्रपति पुनको आलिशान महल कहाँबाट आयो र कसरी बन्यो भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गर्नुभयो । उहाँले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने समेत माग गर्नुभयो ।



https://www.facebook.com/reel/7924827900865232
त्यस्तै, अहिले बजारमा पुन र सुनको कुरा आएकोले सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको सम्बन्धको विषयमा पनि स्पष्ट धारणा आउनु पर्ने बताउनु भयो । उहाँले तस्करसँग अर्थमन्त्री पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएकोले भन्दै कुराकानीको अडियो नै संसदमा सुनाउन माग गर्नुभयो ।
यसैगरी उहाँले गृहमन्त्री रवि लामिछानेले सहकारी सदस्यहरुको पैसाले ४६ लाख रुपैयाँको गाडी चढेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अहिले सहकारी पीडितहरु देशैभर रहेकोले सहकारी सदस्य नभएको हैसियतमा सहकारीबाट पैसा लिन नमिल्ने पनि बताउनु भयो । केसीले गृहमन्त्री रवि लामिछाने पीडक भएर पीडितलाई कसरी न्याय दिन सक्छन् भन्ने प्रश्न गर्दै न्याय दिन नसक्ने हुँदा गृहमन्त्री पदबाट राजीनामा दिन आग्रह गर्नुभयो ।



