सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो ।२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।
सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए । यता केहिदिन पहिले कान्तिपुरले पुनको भिडियो सहित सुन तस्करीमा संलग्न भएको समाचार नै प्रसारण गरेको थियो ।



छानबिन आयोगका एक सदस्यका अनुसार, दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ । ०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइँकुण्ड गएका थिए। अमला रोका सुन प्रकरणमा फरार छिन् ।शुक्रबारै छोटो समयमै कसरि पुन आलीसान महलका मालीक बने भन्दै संसदमा कांग्रेस नेता राजन केसिले समेत कुरा उठाएका थिए ।



