बुढानीलकण्ठ भलिबल क्लवले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार भएको खेलमा बुढानीलकण्ठले कर्णालीमाथि २५–१०, २५–१८, २५–१७ को जित निकालेको हो । पुरुषमै सुदूरपश्चिम प्रदेशले पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको छ । समूह ‘बी’ को खेलमा सुदूरपश्चिमले जावलाखेललाई २५–२१, २५–१३,२५–१७ ले हराएको हो ।
यसैगरी साविक विजेता नेपाल पुलिस क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् राखेपको कभर्ड हलमा आजको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । विभागीय टोली पुलिसले खेल २५–१२, २५–७, २५–८ ले आफ्नो पक्षमा पारेको हो ।



यसअघि पहिलो खेल अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले मधेश प्रदेशलाई हराएको थियो । सशस्त्रले मधेसलाई २५–८, २५–७, २५–२ ले हराएको हो । महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।



