नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आफूले मागदाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा आज पुनरावेदन दिएको हो ।

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले गत असार १५ गते खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो । अख्तियारले २०७५ सालको पुसमा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो । मागदाबी अनुसार सजाय नगरी करिव आधा मात्रै सजाय भएको भन्दै अख्तियार पुनरावेदनमा गएको हो । अख्तियारले खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।

विशेष अदालतले त्यसलाई आंशिक रुपमा ठहर गर्दै उनीहरुको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्नु भनी आदेश दिएको छ । गोपालले घरजग्गामा मात्रै ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । विभिन्न ५५ वटा बैंक, सहकारी र अन्य वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत भेटिएको थियो । खड्का कार्यकारी निर्देशक हुँदा निगममा भएको जग्गा खरिद प्रकरणमा पनि खड्काविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय