प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरेको छ । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रमपछि बोल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गरेका हुन । उनले छानविन गर्नुपर्ने र गर्नु नपर्ने तथ्यहरु बाझिएको भन्दै यसको छिनोफानो गर्नका लागि छानविन समिति गठन गर्नु आवश्यक भएको बताए ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरुको चित्त नबुझेको बताए । उनले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न पर्याप्त प्रमाण भएको जिकिर गरे । निष्पक्ष छानविन गर्नका लागि पनि संसदीय छानविन समिति आवश्यक रहेको कांग्रेसको भनाइ छ । सरकारले काँग्रेसको मागलाई गम्भिरतापूर्वक नलिएमा सरकार आफैँले संसद अवरोध गरेको मानिने चेतावनी समेत प्रमुख सचेतक लेखकले दिए ।






