काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताए ।यस वर्ष नेपालको नारा ‘आत्मसम्मान, समानता र सामाजिक न्यायसहितको समृद्धका लागि राजनीतिक हक ,जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक’ रहेको छ । ‘इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य पारिएका नेपालका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।’’संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिएपनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा अपेक्षित कमी आउन सकेको छैन,’ प्रधानमन्त्री दाहालले भने, ’छुवाछूत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक बहिस्कार, कुटपिट–हत्या र नाकाबन्दीजस्ता घटनाहरूमा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ।’

उनले छुवाछूत उत्पीडनका अतिरिक्त लैंगिक विभेद, भाषिक विभेद र क्षेत्रीय उत्पीडनलगायत विभेदहरू समेत अब अन्त्य हुनुपर्ने बताए । देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवं विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने बताए । ’जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व हो,’ प्रधानमन्त्री दाहालले भने, ’समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । यद्यपि, मानव सभ्यताको आधुनिक युगमा पनि दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन ।’

संविधान, ऐन तथा कानुनहरूले सुनिश्चित गरेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सङ्घर्षको अर्को विकल्प नदेखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए ।
संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय