काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत ११ गते आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनले चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा श्रेष्ठले चिनिया विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै भ्रमणका क्रममा उनले बेइजिङ र अन्य प्रान्तमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ ।भ्रमणलाई फलदायी बनाउन मन्त्री श्रेष्ठले शनिबार विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन । परराष्ट्र मन्त्रालयमा भएकोे छलफलमा श्रेष्ठले चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिए । सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका छन ।छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी थिए ।

भ्रमण दुई देशबीचका सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने श्रेष्ठले बताए ।उनले अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुने जानकारि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय