काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले चक्रपथ सुधार आयोजनाबारे महानगरले राखेको बोर्ड फालेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सांघाइ कन्स्ट्रक्सन कम्पनीको आलोचना गरेका छन् । आज सामाजिक सञ्जालमा उनले सडक निर्माणको जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनिया सांघाइ कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयमा मात्र नभएर ९ वर्षमा पनि नसकेको र त्यसले महानगरमा असर गरिरहेको बताएका हुन ।
सो विषयमा स्थानीय तथा संघीय सांसदहरुले पटकपटक आवाज उठाएको भए पनि कसैको नखाखेको र त्यसबारे जानकारी दिन आफूहरुले राखेको बोर्ड फालिएको भन्दै बालेनले असन्तुष्टि जनाएका हुन । आफ्नो अधिकार क्षेत्रमा नपरे पनि त्यसबाट महानगरबासी पीडित भएको र त्यसबारे जानकारी दिन आफूहरुले बोर्ड राखेको उनको भनाइ छ ।



चीनले त्यसबारे सरकारलाई कुटनीतिक नोट लेखेको समेत बालेनको भनाइ छ । चक्रपथ सु्धार आयोजना अन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगञ्जको काम सन् २०१५ को अप्रिलमा सक्नु पर्ने थियो तर २०२४ लाग्दा समेत पुरा नभएकोमा समेत उनले असन्तुष्टि जनाएका छन । छेउछाउका बासिन्दा, रिङरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित भएको नगरप्रमुखले स्मरण गराएका छन ।



