अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पु¥याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माणस्थलको व्यवस्था नभइ भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेश्की रकम दिएको अख्तियारले दाबी गरेको छ ।



अख्तियारको आरोपपत्रमा निर्माण व्यवसायी महालक्ष्मी÷पाण्डे एण्ड कम्पनी÷ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेश्की लगेर काम सुरू नगरेको उल्लेख छ । अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पु¥याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने मागदाबी गरेको छ ।



