काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा देशैभर बिहान आठ बजेदेखि सुरु भएको हो । ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा विद्यार्थीहरुले दिइरहेका छन् । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएकाछन् । उनका अनुसार कूल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।



परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एकरएक, पर्सा र सप्तरीबाट दुईरदुई, रुपन्देहीबाट ४ जना छन् ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।



