प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन । आज बिहीवार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा उनले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताएका हुन । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेरनै आफू पदमा बसिरहेको स्पष्टिकरण पनि दिए ।
प्रधानमन्त्री दाहालले मन्त्रालयहरुले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिवद्धता जनाए । प्रदेश र स्थानीय तहमा जाने बजेट बजेट वक्तव्यमै समावेश गरेर लैजाने व्यवस्था गर्न पनि उनको दलहरुलाई आग्रह थियो ।



प्रधानमन्त्री दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बरु बढाउदै लैजाने जानकारी दिए । विशेष अनुदान भने नयाँ ढंगले अघि बढाउने उनको भनाइ थियो । सशर्त अनुदानलाई भने सरकारले घटाउँदै लैजाने पनि उनले स्पष्ट पारे ।



