राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले वर्तमान शासन र संविधानबाट जनता माथि विभिन्न प्रकारका विभेद,शोषण र अपेक्षा भइरहेको बताएका छन् । शुक्रवार सर्लाहीको लालबन्दीमा आयोजना भएको पत्रकार सम्मेलनमा महतोले यस्तो बताएका हुन। देशको शासन प्रणाली अप्राकृतिक रुपमा संचालन भइरहेकोले आफ्नै विचार ,परिस्थिति ,संस्कृति र सभ्यताको आधारमा संचालन हुननसकेको उनले पत्रकारहरुलाई बताएका छन् ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका महतो महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)त्यागेर बहुल राष्ट्रिय राज्यको माग गर्दै अभियानमा छन् । उनले एकल चिन्तन र सोंचबाट देशलाई चलाउँदा अहिलेको अवस्था आएको बताए ।



संघीयताको मर्म र भावना विपरीत सबैथोक केन्द्रको मातहतमा राखेर बेइमानी गरिएको उनको भनाइ छ । उनले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि सुरु गरेको अभियान बिखण्डनको लागि हो भनेर भ्रम फैलाउन खोजिएकोले त्यसको पछाडि नलाग्न आग्रह गरे । पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता सुमन सयामी, केशव झा, कमला गुरुङ लगायतको उपस्थिति रहेको थियो ।



