पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण अवस्था आएको उल्लेख गर्दै कसैले कसैलाई निषेध नगरी सही निष्कर्षमा पुग्न आह्वान गरेका छन् । नयाँवर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिदै गएको उल्लेख गरेका छन् ।
विधि, व्यवस्था, शब्द र रुप जति बद्लिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको टिप्पणी गर्दै पूर्वराजा शाहले मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्नेमा जोड दिएका छन् । देशको कुनै पनि अवस्थामा सुधार आउन नसकेको भन्दै पूर्वराजा शाहले अहिलेको अवस्थाको पुनरावलोकन गर्न र गम्भीर भएर सोच्न आग्रह गरेका छन् । देशको बौद्धिक समाज उदासीन हँुदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानुले राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण अवस्था आएको पूर्वराजा शाहको सन्देशमा उल्लेख छ ।



शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किदै जाँदा पनि अहिलेको राजनीतिक विधि विधानले आसा जगाउन नसक्नु राष्ट्रिय चिन्ताको विषय बनेको भन्दै पूर्वराजा शाहले राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्ने बताएका छन् ।



