काठमाडौं । नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी तीब्रताका साथ अघि बढिरहेको छ । आगामी जेठ ५ र ६ गते हुने नगर अधिवेशनका लागि शनिबार १५ वटै वडामा प्रतिनिधि छनोट भएका छन् । ११४२ जना संगठित सदस्य रहेको एमाले चन्द्रागिरि नगर कमिटीबाट १५ जनाबाट एक प्रतिनिधि रहने गरी ७९ जनाले प्रतिनिधित्व गर्दैछन् ।

साथै नगर कमिटीका ८१, प्रत्येक वडाका २-२ जना सल्लाहकार परिषद्बाट ३०, अनेमसंघलगायतबाट गरी कूल २०६ जना प्रतिनिधि अधिवेशनमा सहभागि हुनेछन् । प्रतिनिधिका लागि एमालेले दलित, समावेशी, खुला र युवाबाट प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ नेतृत्व समेत चयन गर्ने दोस्रो नगर कमिटी अधिवेशनमा हालसम्म ६ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । अध्यक्ष पदका लागि हालसम्म श्रीराम लामिछाने, उत्तम राउत, राजेन्द्र केसी, हरिभक्त महर्जन, गीता पोखरेल र दिपक पनेरुको दाबी रहेको प्रचार विभाग कमिटीका संयोजक गोपाल तिवारीले जानकारी दिएका छन् । बैशाख १५ गते बसेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको ११औं पूर्ण बैठकले नगर कमिटीको अधिवेशन जेठ ५ र ६ गते गर्ने निर्णय गरेको थियो ।

नगर अधिवेशनका लागि कमिटीले विभिन्न उप कमिटीहरु समेत गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने अधिवेशन चन्द्रागिरि नगरपालिका वडा नं. ५ लाछीमा हुने नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय