वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बनेकी थिइन् । वाग्मतीमा अब मन्त्रालयको संख्या १३ पुगेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको छ । गत चैत्र २० गते मन्त्री नियुक्त भएकी आलेमगरले बुधबार विभागीय जिम्मेवारी पाएकी हुन् ।



उनले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरी जिम्मेवारी तोक्ने मन्त्री परिषद्ले निर्णय गरेको हो । मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । जिम्मेवारी पाएलगत्तै मन्त्री आलेले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् । मन्त्री आले बागमती प्रदेशमा नेकपा समाजवादीबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली सांसद् हुन् । उनी काठमाडौं क्षेत्र नं १० ख बाट दोश्रो पटक बागमती प्रदेश सभाका लागि निर्वाचित भएकी हुन् ।



