प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत लिएकाछन । संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत प्राप्त गरेका हुन। गत वैशाख २१ गते जनता समाजवादी पार्टी विभाजित भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएका हुन्।
विश्वासको मत लिने प्रक्रियामा संसद्का २ सय ७५ मध्ये १ सय ५८ मात्रै सहभागी भए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरू भने मतदान प्रक्रियामै सहभागी बनेनन्। संसदको विश्वास यथावत् राख्न १ सय ३८ सांसदको समर्थन हुँदा बहुमत पुग्छ।



यसअघि तीनपटक विश्वासको मत लिँदा प्रचण्डले कुनै अवरोध खेप्नुपरेको थिएन। तर, सोमबारको बैठकमा विपक्षी दलहरू वेल घेराउमा हुँदैगर्दा प्रचण्डले विश्वासको मत मागे। सभामुखले प्रक्रिया अघि बढाए। विश्वासको मत माग्दैगर्दा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको आजको प्रदर्शनलाई ‘इतिहासकै कलंक’को संज्ञा दिएका छन्। उनले कांग्रेसलाई चेतावनी दिँदै सोमबारको प्रदर्शनको मूल्य चर्को पर्ने पनि बताए।



