काठमाडौं । विश्व बाल श्रमविरुद्धको दिवस चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित भट्टेडाँडामा विविध कार्यक्रम गरी मनाइएको छ ।

चन्द्रागिरि नगरपालिका–२ वडास्तरीय बाल अधिकार समितिको सहकार्यमा वरपिपल युवा क्लवले बाल अधिकार तथा बालश्रमविरुद्ध कानूनी सचेतना मुलुक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सपना परियारले बालबालिकको हक, अधिकार संरक्षणको लागि एकल प्रयासले नहुने भन्दै सबैले हातमा हात मिलाएर अघि बढ्नुको विकल्प नभएको बताउनु भयो । उहाँले आ–आफ्नो प्रतिबद्धता ख्याल राखौं, बाल श्रम अन्त्य गरी अघि बढौं भन्ने नाराका साथ विश्वभर बाल श्रमविरुद्धको दिवस मनाइँदै गरेको उल्लेख गर्नुभयो । उहाँले अहिले पछिल्लो समय बालबालिकाको हक, अधिकारको विषयमा बुलंदरुपमा आवाज उठ्ने गरेको र विस्तारै बालश्रम पनि मुक्त हुँदै गएको उल्लेख गर्नुभयो । परियारले अभिभावक नभएका बालबालिकाले शिक्षा, स्वास्थ्य, रोजगारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले राज्यले विशेष योजना अघि बढाएको पनि बताउनु भयो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक हेमराज थपलियाले यदि कुनै ठाउँमा बालबालिकालाई काम गराएको देखिए वा बालश्रम गरिएको पाइए कानून बमोजिम कार्वाही हुने बताउनु भयो । उहाँले सन् १९९० मा नेपालले संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेपछि बाल श्रमविरुद्धको विभिन्न कार्य सञ्चालन गरी बालबालिकाको हक अधिकार सम्बन्धी कार्य गर्दै आएको स्मरण गराउनु भयो । उहाँले बालबालिकाको हक हितको लागि प्रशासन सधै तयार रहेको पनि बताउनु भयो । थपलियाले नेपालमा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २ हजार र कमैया श्रम ऐन २ हजार २ ले नेपालमा बालश्रमलाई अवैध मान्दै आएको उल्लेख गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका वडा नम्बर २ का वडा सदस्य तथा वडास्तरीय बाल अधिकार समितिका संयोजक लभराम सुवेदीले नगरले २०८२ साल भित्र बालमैत्री स्थानीय तह घोषणा गर्ने गरी नगरले काम गरिरहेको बताउनु भयो । उहाँले वडा भित्र बालश्रम भए नभएको बारेमा पनि अनुगमन भइरहेको र यदी कुनै व्यक्तिले बालबालकालाई श्रम गराएको छ भने त्यसो नगर्न पनि सुझाव दिनुभयो ।

वरपिपल युवा क्लवका अध्यक्ष सुरेश सुर्खेतीले बालश्रम दिवस मनाउँदैमा केही नहुने र बालबालिकाले नै आफ्नो अधिकारको विषयमा जानकारी पाउनु पर्ने हुँदा उनीहरुलाई नै लक्षित गर्दै क्लवले आजको कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय