काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह ब्राजिल प्रस्थान गरेका छन् ।
साह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल गएका हुन । बालेनले जुन १९ र २० तारिखमा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिनेछन । विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था मेट्रोपोलिसको निर्देशक बोर्ड सदस्य हुन, मेयर बालेन । बैठकले विश्व परिवेशका भिन्नभिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।



सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा मेयर साहले सम्बोधन गर्नेछन् । कार्यक्रमअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा साहले प्यानलिस्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् । बैठक सम्पन्न गरेर उनी ८ असारमा स्वदेश फर्कनेछन् ।



