काठमाडौं । थानकोट चित्लाङ सडक खण्डमा अझै एक महिना यातायात संचालन नहुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित सेतो पहरामा धमाधम काम भइरहेको र उक्त काम अझ एक महिना लाग्ने भन्दै सडक डिभिजन कार्यालयले चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकालाई सहजीकरण गरिदिन भन्दै पत्र पठाएको छ ।
उक्त सडक खण्डमा लगातार दुर्घटना हुन थालेपछि सडक खण्डको उच्च ग्रेड कम गर्न र सडकको चौडाई कम भएको खण्डहरुमा ब्याक कटिङ तथा ग्रेड डाउन भइरहेको छ । डिभिजन कार्यालयले निर्माणको क्रममा संभावित दुर्घटना हुन नदिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गरेको छ ।



डिभिजन प्रमुख ईञ्जिनियर नारायणदत्त भण्डारीले निर्माणस्थलमा कडा चट्टाले काम गर्न कठिनाई भइरहेको, अनुमान गरिएभन्दा बढी समय लाग्ने र मौसम समेत अनुकुल नरहेको भन्दै साउन २० गतेसम्म वैकल्पिक बाटो प्रयोग गरिदिन आग्रह गर्नुभएको छ ।




