नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ .२ बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ । कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।



यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ .२ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसअघि उनले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गरेका थिए। नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ । यसअघि असार १८ गते मध्यरातमा कांग्रेस-एमालेबीच सत्ता समीकरणमा सहमति भएको थियो ।



