नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा हिजो भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाका एकै परिवारका चार जना बेपता भएका छन । मटिअर्वाका ५८ वर्षिय परशुराम साह श्रीमती मीना देवी, माइलो छोरा सरोज, छोरी रिंकु र ज्वाई नरेश साहलाई लिएर २६ अषाढमा काठमाण्डौं गएका थिए । कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनाको ९ महिने तालिम पश्चातको पासआउट समारोहमा सहभागी हुन परशुराम परिवारजनका साथ काठमाण्डौ गएका थिए ।
गाँउबाट नै काठमाण्डौंका लागी चल्ने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किदै थिए । “कान्छो भाइको तालिम सकिए पछिको पासआउट कार्यक्रममा सहभागी भएर बुवा, आमा, माइलो भाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाण्डौबाट फर्किदै हुनुहुन्थ्यो ।” परशुरामका जेठा छोरा सुकन कुमार साहले भने “बस चढेपछि बुवाले हामी बिहान घर आइपुग्छौ भनेर फोन गर्नु भएको थियो । तर बिहान सबेरै बस दुर्घटनामा परेको खबर आयो ।”
परिवारका ५ जना मध्ये सरोज साह भने दुर्घटनामा जोगिएका छन । दुर्घटनाबाट जोगिने ३ जना मध्ये एक हुन सरोज । “हिजो काका को छोरीको बिहे थियो । बुवाले भतिजिको बिहेमा हामी सबै जना आइपुग्छौं भनेर भन्नु भएको थियो ।” फोनमा भएको कुरा सम्झदै सुकन भन्छन “हाम्रो परिवार माथि बज्रपात भयो । बुवा, आमा, दिदी, भिनाजुको कुनै अतोपतो छैन अहिले सम्म ।”
बुवा आमा सहित दिदी भिनाजु पनि बेपता भएको खबर सुनेर घर आएकी परशुरामकी जेठी छोरीको रोदनले गाँउनै शोकमग्न छ । भारतबाट हिजो घर आएकी संजितालाई गाँउका महिलाहरुले सम्झाएर शान्तवना दिन खोज्छन तर हिजो देखी परिवारजन सम्झेर रोइरहकी उनीलाई देख्दा सम्झाउन जानेहरु पनि आँखा भरी आसु पार्छन । दुर्घटनामा परेको दोश्रो दिन सम्म पनि आफन्तको कुनै खबर प्राप्त हुन नसकेपछि परिवारजन सहित सिङ्गो मटिअर्वा टोल शोकमा डुबेको छ ।
गरुडाको सिसवामा पनि शोक 
बस दुर्घटनामा जोगिने अर्का एक व्यक्ति हुन गरुडा नगरपालिका वडा नम्वर ९ सिसवाका ५० बर्षिय जुगेश्वर राय यादव । २७ वर्षिया छोरी अमृता यादव, ७ बर्षिय छोरा अशोक यादव ३ वर्षका नाति शिवशंकर यादव र डेढ बर्षको नातिनी सहित उपचारका लागी उनी असार २० गते काठमाडौं गएका थिए ।
जुगेश्वरको ७ बर्षिय छोरा अशोकलाई पेट दुख्ने समस्या थियो । गरुडा र चन्द्रपनिगाहपुरमा समेत लगेर उपचार गराउदा अशोकको पेट दुख्ने समस्या समाधान नभए पछि उनले छोरालाई काठमाण्डौ उपचार गराउन लग्ने सोच बनाए । बुवा काठमाण्डौ जाने भए पछि छोरी अमृता पनि आफ्नो ढाड दुख्ने समस्याका उपचारका लागी दुई छोराछोरीका साथ बुवासँगै काठमाण्डौ गएकी थिइन । उपचारका लागी गएका उनीहरु सवार बस पहिरोले त्रिशुलीमा बगाउदा बेपता छन ।
बस दुर्घटनाको खबर सुने पछि जुगेश्वरकी श्रीमती उमादेवी यादवको अवश्था निकै कारुणीक बनेको छ । आमासँगै जुगेश्वरका १८ बर्षिय जेठा छोरा सन्तोष यादव पनि रुदारुदै छिन छिनमा मुर्छा पर्छन । “दुर्घटनामा बुवा जोगिनु भएको छ तर दिदी, भाइ र भान्जा भान्जी कहाँ छन भन्ने अझै थाहा छैन ।” जुगेश्वरका छोरा सन्तोष भन्छन “हाम्रो परिवारनै उजाडीएको छ । मनलाई कसरी बुझाउने, सम्झाउने थाहा छैन ।” त्रिशुलीमा हिजो देखी बस खोजीरहेको भन्ने सुनेको छु तर हाम्रा परिवारजन कहिले फेला पर्छन सरकार गम्भीर बनिदिनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय