काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदवहाली गरेसँगै गरेको प्रतिबद्धता हो, सरकारी अस्पतालमा एक महिना भित्रै लाईन हटाउने । यही प्रतिबद्धता पूरा गर्न मन्त्री पौडेलले संघीय अस्पतालहरुमा विस्तारित सेवा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ । २०७७ सालमै विस्तारित सेवाको कार्यविधि बने पनि पाँच वर्षसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन । अब पनि जनशक्ति व्यवस्थापन, सेवा सुविधा बढाउने विषयमा ध्यान नदिए कार्यान्वयनमा चुनौति देखिन्छ ।
घण्टौं लाईन बसेर पनि अस्पतालमा भनेकै दिनमा डाक्टर भेट्न नपाउँदा र समयमा उपचार नपाउँदा नागरिक आजित हुने गरेका छन् । अनि चिकित्सकहरु पनि आफ्नो ड्यूटी सकिनासाथ निजी क्लिनिकमा जान हतारिनुपर्ने बाध्यतामा छन् ।
चिकित्सक र सेवाग्राहीको यही समस्यालाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । अस्पतालको सेवा सुलभ बनाउनका लागि यो अवधारणा नयाँ भने होइन । विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ मै आएको थियो तर प्रभावकारी कार्यान्वयन नहुँदा अस्पतालको कथा व्यथा उस्तै छ । मन्त्रालयको निर्देशनसँगै अब भने संघीय अस्पतालहरुले अनिवार्य रुपमा विस्तारित सेवा सञ्चालन गर्नुपर्ने छ ।



विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ अनुसार संघीय सरकारी अस्पतालमा चरणवद्ध रुपमा लागु हुने व्यवस्था छ । प्रदेश तथा स्थानीय तहका अस्पतालहरु, सामुदायिक र सहकारी अस्पतालहरुमा समेत लागु गरी नियमित बाहेक अतिरिक्त समयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । विस्तारित सेवा सुरु भएका अस्पतालमा, अस्पताल समयभन्दा बाहेक पनि चिकित्सकबाट सेवा लिन पाइन्छ, तर त्यसका लागि नियमित सेवाभन्दा दुई सय प्रतिशतसम्म बढी शुल्क तिर्नुपर्ने व्यवस्था छ । यसोगर्दा चिकित्सक र सेवाग्राही दुवैलाई फाईदा हुनेछ ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २०७३ सालदेखि नै विस्तारित सेवा दिइरहेको छ । अस्तालले बिहान साढे आठ बजेदेखि ४ बजेसम्म नियमित सेवा सञ्चालन गर्छ, साढे ४ बजेदेखि साँझ ८ बजे र साँझ ८ बजेदेखि १२ बजेसम्म विस्तारित सेवा दिने गर्छ । २०७७ मा विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि आएसँगै अस्पतालले कार्यविधि अनुसार नै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा सुविधा दिदै आएको छ । तर चिकित्सक लगायतलाई दिइरहेको सेवा सुविधा पर्याप्त नभएकाले कार्यविधि परिमार्जन गर्नुपर्ने अस्पतालको भनाई छ ।
विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि अनुसार विस्तारित सेवा सञ्चालन गरेबापत संकलित रकमलाई अस्पतालको छुट्टै कोषमा राखिने र यसको सञ्चालन लेखा प्रमुख र अस्पताल प्रमुखको संयुक्त दस्तखतबाट हुने व्यवस्था छ । यो कार्यविधि अनुसार अस्पतालले अतिरिक्त समय सेवा सञ्चालन गरेबापत, अस्पतालले आम्दानी गरेको २० प्रतिशत रकम अस्पताल विकास समितिमा र बाँकी ८० प्रतिशत रकमलाई एक सय प्रतिशत मानी ९० प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीलाई दिनुपर्ने व्यवस्था छ ।



