काठमाडौं । दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएको छ । सडक भाँसिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ ।
सडक हिजो राति नै भाँसिएको र ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको महानगर प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिकाकै कार्यालय नजिक रहेको सडक भाँसिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ । भाँसिएको सडक टुकुचा खोला रहेको देखिएको छ । महानगरले भाँसिएको ठाउँमा पुल बनाउने बाहेकको अर्को विकल्प नभएको जनाएको छ ।



महानगर प्रमुख बालेन साहले खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने माग गरेका छन् । उहाँ भन्नुहुन्छ, काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेको थियो, अदालती कारणले केही रोकिन परेको थियो, अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौं ।’



