काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।
काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरु सुरु भएको बताउनु भयो । उहाँले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले बृद्धि भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार अहिले आम मानिसहरुमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढेको दाबी गर्नुभयो ।



उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्र र सरकार एउटै नदी प्रणाली रहेको बताउनु भयो । उहाँले नेपालमा आउने विदेशी लगानी गैरकानूनी हुनु नहुने बताउनु भयो । सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गरेर नै सरकार अघि बढ्ने बताउनु भयो ।



