अहिले नेपालमा नाम चलेका व्यक्तिलाई दाम कमाउन गाह्रो छैन । त्यस्ता नाम चलेका व्यक्तिले विभिन्न बहानामा ठग्नु नेपालमा सामान्य विषय बनिसक्यो । भुटानी शरणार्थी काण्ड होस् या उपसभामुखको अमेरिका काण्ड ।

अहिले पछिल्लो समय त्यस्तै नाम चलेका व्यक्तिले राम्रै दाम कमाएको चर्चा बाहिर आएको छ । केही दिनअघि मात्र समाचार माध्यममा आएको खबरले अहिले बजार तातेको छ । त्यस्ता नाम चलेका र आफुलाई वरिष्ठ ठूलाठालु भन्ने व्यक्तिले नै गैरकानूनी काम गर्दै लुटको धन्दा मच्चाइ रहेका छन् भन्दा फरक पर्दैन । नेपालीको बेरोजगारीको फाइदा उठाउँदै ठूला ठूला सपना देखाएर लुटको धन्दा चलाएको छ नेपाल संगीत उद्योग संघले । तपाई हामीलाई लाग्छ संगीत उद्योग भन्ने वित्तिकै गीत संगीत उत्पादन हुन्छ भनेर । तर, त्यहाँ गीत संगीत होइन, गीत संगीतको नाममा मान्छे बेचिन्छ ।

काठमाडौंको रुद्रमति पुलबाट भित्र गल्लिमा एउटा चार तले घर छ । त्यही चार तल्ले घरको तेस्रो तलामा नेपाल संगीत उद्योग संघ छ । त्यही संगीत उद्योगले अहिले संगीत उत्पादनको नाममा मान्छे बेचिरहेको छ । गीत संगीतको बोर्ड झुण्ड्याएर यो संस्थाले नेपालबाट अवैधरुपमा नेपालीलाई अस्ट्रेलियालगायत विभिन्न देश पठाउने काम गर्दै आएको छ । गीत संगीतको अड्डाको नाम बेचेर एउटा साधारण व्यक्तिलाई कलाकार बनाई विदेश पठाई दिने भन्दै अबैध रुपमा पैसा असुली गरी मान्छे ठग्ने अड्डा बनेको छ यतिबेला नेपाल संगीत उद्योग संघ ।

नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरले नक्कली कलाकार बनाएर नेपालबाट अस्ट्रेलिया पठाउने गरेको खुलाशा भएको छ । अस्ट्रेलिया जानको लागि २२ लाख रुपियाँ बुझाएपछि तपाई हामी जो कोही पनि कलाकार भिसामा अस्ट्रेलिया पुग्न सक्छौ । यो हाम्रो भनाई होइन, संघका अध्यक्ष मगरको दाबी हो । मगरले केही हप्तामा विभिन्न व्यक्तिलाई कलाकार भिसामा अस्ट्रेलिया लैजादै छन् । अष्ट्रेलिया पुगेपछि फर्कनु पर्दैन लुकेर बस्नुपर्छ, त्यो नै तपाई हाम्रोलागि उनीहरुको बम्पर उपहार हुनेछ ।

नेपालीहरुको महान चाड वडा दशैं पनि नजिकै आइसकेको छ । नेपाल संगीत उद्योग संघले दशैंको अवसरमा अष्ट्रेलियामा सांगीतिक कार्यक्रमको आयोजना पनि गर्दै छ । त्यसमा पनि उनीहरुले कलाकार भन्दा गैरकलाकारलाई लैजाने योजना बनाउँदै छन् । २२ लाख रुपैयाँमा संघको लेटरहेड दुरुपयोग गर्दै गैरकलाकारलाई कलाकार बनाई अध्यक्ष सूर्यबहादुर मगरले ठग्न खोज्दै छन् । गैरकलाकारलाई कलाकार बनाउन मगरमात्र नभई आफुलाई शहरी बिकास मन्त्रालयको ईञ्जिनियर दाबी गर्ने रमेश बिसी पनि यसमा संलग्न छन् । ३७ जना गैरकलाकारलाई कलाकार बनाएर विदेश लैजाने मगरसहितको गिरोहले एक जनाबाट २२ लाखका दरले ८ करोड १४ लाख रुपैयाँ कुम्ल्याउने दाउमा छन् । उनीहरुले केही व्यक्तिसँग त रकम लिई पनि सकेका छन् ।

मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले विदेशमा झुटको सहारा लिएर मावन पठाउन नपाउने उल्लेख गरेको छ । ऐनको दफा ४ मा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने गर्न नहुने उल्लेख गरेको छ । नेपाल सांगीतिक उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर र उनको गिरोहले मानव बेचविखनमात्र नभई, संगठित अपराध पनि गरेका छन् । त्यसैले यस्ता व्यक्तिलाई जतिसक्दो चाँडो कानूनी कठघरामा उभ्याउनु जरुरी छ । देशमा यस्ता अपराधका घटना बारम्बार भई रहँदा पनि त्यस्ता व्यक्तिलाई कारवाही नहुँदा नेपालमा सरकार छ भन्ने अनुभुति जनताले गर्न सकेका छैन । यदि यस्ता अपराधिहरुलाई सरकारले कारवाही नगरी संरक्षण गर्ने हो भने देशमा यस्ता लुटेराहरुको संजाल मौलाउने छ । त्यही लुटेराहरुको जालोले नेपाल खरानी हुने छ । त्यसैले जनताले सरकार छ भन्ने महसुस दिलाउनको लागि यस्ता र त्यस्ता व्यक्तिलाई कारवाही गर्न ढिलाई गर्न हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय