भारतको उत्तराखण्डस्थित रुद्रप्रयागमा भारी वर्षापछि फान्टा हेलिप्याड नजिकै भग्नावशेषमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । दिउँसो करिब साढे १ बजे वर्षाका कारण भग्नावशेष भत्किँदा नेपाली नागरिक पुरिएर मृत्यु भएको भारतीय प्रकोप उद्धार बलले जनाएको छ ।
शवलाई जिल्ला प्रकोप उद्धार बल (डीडीआरएफ) टोलीले रुद्रप्रयाग ल्याएको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले खाट गडेरेनजिकै चारजना भग्नावशेषमा पुरिएको सूचना प्राप्त हुनासाथ उद्धारका लागि टोली घटनास्थलमा पठाएको बताएको छ ।



अविरल वर्षाका कारण त्यहाँको डोलियादेवी सडक अवरुद्ध हुँदा उद्धारमा खटिएको टोलीलाई घटनास्थल पैदलै हिँडेर जानु परेको थियो । मजदुरी गर्न त्यहाँ पुगेका मृतक चारै जना नेपाली नागरिक तुलबहादुर नेपाली , पूर्ण नेपाली, किश्ना परियार र दीपक बुढा रहेको बुझिएको छ । उनीहरु मध्ये ३ जना चितवनका र एक जना दैलेखका रहेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।



