कर्णालीमा एक वर्षभित्र सवारी दुर्घटनाबाट १ सय १२ जनाको ज्यान गएको छ । प्रदेशअन्तर्गत १० जिल्लाको तथ्यांक हेर्दा ११२ जनाको ज्यान गएको हो ।
गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर १ हजार ४ सय ४५ सवारी दुर्घटना भएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतमा ९५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । जुम्लामा भएका ४१ दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए । सल्यानमा १३० सवारी दुर्घटनामा १९ जनाको मृत्यु हुँदा रुकुम पश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।



यस्तै गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको थियो भने जाजरकोटमा ६८ वटा दुर्घटनामा पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनामा परी एक वर्षको अवधिमा २७७ जना घाइते भएका छन् । घाइतेमध्ये ५२४ जना गम्भीर र अन्य सामान्य छन् । ती मध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार १८४ छन् । जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना छन् भने सल्यानमा २७१, रुकुमपश्चिमका १५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका १३८ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको छ । गत आवमा प्रदेशभर ७७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । त्यसपछि १६५ वटा अटोरिक्सा, २१८ वटा जीप तथा कार, ९१ वटा ट्याक्टर दुर्घटना भएका थिए । एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक र ट्यांकर दुर्घटना परेको प्रहरीले जनाएको छ ।
यसैगरी २७ वटा माइक्रो फोर्स, १५ वटा ट्रिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए । सडक दुर्घटनामा सरोकार निकायले जीर्ण सडक सुधार, चालकलाई सचेतीकरण र यान्त्रीक सुधारमा ध्यान दिन नीजि क्षेत्रको सुझाव छ ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन् । भीरको सडककिनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खिया लागेर जीर्ण भएका छन् ।
आर्थिक वर्ष २०७९-०८० को तुलनामा घटेपनि दुर्घटनामा घाइते हुनेको संख्यामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७९-०८० मा सवारी दुर्घटनाको संख्या ५४६ वटा थियो । जसमा मृत्यु हुनेको संख्या १२३ जना थियो भने घाइते एक हजार ९० जना थिए ।आर्थिक वर्ष २०८०-०८१ को दुर्घटनाको संख्या ९९६ ले बढेको छ । गत तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय सडक दुर्घटनामा बृद्धि भइरहेको पाइएको छ ।



