काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ ।
साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था गरिएको छ । हरेक वर्ष दशैंका लागि नयाँ नोट साट्दै आएको राष्ट्र बैंकले यसपाली सुकिला नोटले काम चलाउने भएको हो । सरकारले खर्चको व्यवस्थापन गर्नको लागि नयाँ नोट यो वर्ष नछापेको हो ।



पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरिरहेको राष्ट्र बैंकले नयाँ नोट आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दशैंमा दिन लागेको हो । दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो वर्षपनि सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारीमा नोट सहटी गरिने छ ।
राष्ट्र बैंकले पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि मात्रै १ अर्ब ३० करोड रुपियाँ बर्सेनी खर्च हुँदै आएको जनाएको छ ।



