काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीेले छिमेकी दुई देशलाई संसदबाट सन्देश दिनुभएको छ । उहाँले संसद बैठकबाट छिमेकी भारत र चीनलाई छुद्र र जाली व्यवहार नगर्न सांकेतिक सन्देश दिनुभएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीले नेपाल आफ्ना छिमेकसँग छुद्र र जाली व्यवहार गर्दैन र त्यस्तै व्यवहारको अपेक्षा गर्छ भन्दै संसदमा वक्तव्य दिनुभयो । यसको अर्थ छिमेकी नेपाल मामिलामा ‘माइक्रो म्यानेजमेन्ट’मा नउत्र । यही सन्देश संयुक्त राष्ट्रसंघको महासभामार्फत दिने प्रधानमन्त्रीको तयारी देखिन्छ ।



केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि हालसम्म वैदेशिक भ्रमण गर्नुभएको छैन । भारत भ्रमणबाट सुरु हुने विदेश यात्रा यसपटक करिब तोडिने अवस्था छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्यूर्योक जाँदै हुनुहुन्छ । औपचारिक भ्रमण नभएपनि वैदेशिक यात्राको शिलशिला भने तोडिन्छ । सम्भवतः भारतले आफूलाई भ्रमणको औपचारिक निम्ता नदिएकोमा ओली त्यति खुशी हुनुहुन्न । त्यसैले पनि उहाँले संसद बैठकमा नेपाललाई नहेप्न चुनौति दिनुभएको छ । नेपाल आफ्ना छिमेकसँग छुद्र र जाली व्यवहार गर्दैन र छिमेकबाट पनि उस्तै असल व्यवहार चाहन्छ, प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भन्नुभएको छ । नेपालका दुई छिमेकी राष्ट्र रहेका छन्, एक चीन अर्को भारत । प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीति नै छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रताका आधारमा सञ्चालन रहेको उल्लेख गर्नुभएको छ । त्यसैले आफू पनि असल सम्बन्ध राख्ने र छिमेकसँग पनि असल सम्बन्ध चाहने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले त्यतिमात्र भन्नुभएको छैन, उहाँले त संसद बैठकमा कसैको सार्वभौमसत्तामा दख्खल नदिने र अरूको हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति रहेको पनि उल्लेख गर्नुभएको छ । नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र, सुस्ता लगायतमा भारतको अतिक्रमण जारी छ । ओलीकै अघिल्लो प्रधानमन्त्री कार्यकालमा यी क्षेत्र समावेश गरेर नेपालको चुच्चे नक्सा जारी गरिएको थियो । अर्कोतिर चीनले पनि हुम्ला, गोर्खा, दोलखा लगायतका सीमा क्षेत्र मिच्ने गरी गतिविधि गरेको चर्चा चल्ने गरेको छ । दुबै छिमेकलाई पुग्नेगरी प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ताको ख्याल गर्न चुनौति दिनुभएको छ । नेपालको आन्तरिक मामिलामा कुनै गतिविधि नगर्न पनि छिमेकलाई प्रधानमन्त्रीको प्रष्ट सन्देश छ ।
पछिल्ला समय सरकार बनाउन होस् वा ढाल्न भारत र चीनका आ–आफ्नै स्वार्थ देखिन थालेको छ । उनीहरुको गुप्तचर तथा कर्मचारीतन्त्र हावी हुने गरेका छन् । त्यसैले दुईतिहाइ म्याण्डेड पाउनुभएका प्रधानमन्त्री ओली छिमेकलाई नेपाल मामिलामा सर्तक रहन सन्देश दिन खोज्दै हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्त र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियत र नीतिमा कसैको हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीतिलाई पटक–पटक दोहोर्याउनुभएको छ ।



