काठमाडौं । चन्द्रागिरि नगरपालिकाको इतिहासमै पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रागिरि क्रिकेट एशोसिएसन नेपालले चन्द्रागिरि नगरपालिकामा क्रिकेट प्रतियोगितामा गर्न लागेको हो ।
प्रतियोगिता यही असोज ९ गतेदेखि १२ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ । क्रिकेट एशोसिएसनले प्रतियोगिता चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको मदन भण्डारी क्रिकेट खेल मैदानमा हुने जनाएको छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा सुदुरपश्चिम, हाम्रो क्रिकेट, काठमाडौं वारियर्स, दहचोक–१, नैकाप किंङ्स, स्टम्प जम्पर्स, रोयल रेन्जरस, थानकोट वारियर्स, मैत्रीनगर क्रिकेट क्लव, पुष्पलाल स्पोटर्स क्लव, थानकोट क्लव र उडान शैक्षिक केन्द्र गरी १२ टीमको सहभागिता रहेको जनाएको छ । नकआउट चरणमा खेलाईने खेलमा १२ टीमलाई चार पोलमा विभाजन गरिने छ ।




पत्रकार सम्मेलनमा क्रिकेट एशोसिएसनका सदस्य रवी श्रेष्ठले खेलकुदबाट नै नेपाल संसारभर चिनाउनको लागि मद्दत पुग्ने भएकोले चन्द्रागिरि नगरपालिकालाई क्रिकेटबाट चिनाउने संस्थाको पहिलो प्रयास भएको बताउनु भयो । उहाँले आफ्नो देश, ठाउँलाई चिनाउन नाम चलेका व्यक्तिले पनि नसकेको अवस्थामा पछिल्लो समय पारा ओलम्पिकबाट राष्ट्रको नाम विश्वसामु पुगेको उल्लेख गर्दै क्रिकेट खेलले पनि नेपालले आफ्नो पहिचान बनाएको उल्लेख गर्नुभयो । चन्द्रागिरि नगरपालिकामा क्रिकेट खेल लोकप्रिय नभएपनि प्रतियोगिता आयोजना पश्चात क्रिकेटप्रति खेलाडीको मोह जाग्नेमा आफुहरु विश्वस्थ रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष प्रजिवन प्रधानले चन्द्रागिरि क्रिकेट एशोसिएसन नेपाल गैरनाफामुलक संस्था रहेको बताउनु भयो । उहाँले यो संस्थाको मुख्य उद्देश्य क्रिकेट खेल र खेलाडीको विकासको लागि नै पहिलो लक्ष्य रहेको दाबी गर्नुभयो । चन्द्रागिरि नगरपालिकामा पनि क्रिकेटका खेलाडी रहेको र उहाँहरुले यहाँ सिक्ने र खेल्ने ठाउँ नहुँदा झोला बोकेर अन्यत्र भौतारिने अवस्था रहेकोले चन्द्रागिरिलाई क्रिकेट हवको रुपमा विकास गर्नको लागि आफुहरु लागि पर्ने बताउनु भयो ।
प्रतियोगितामा पहिलो टीमलाई ४० हजार नगद, दोस्रो हुने टीमलाई २० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा म्यान अफ द म्याच, मयान अफ द सिरिज, वेस्ट व्याट्स म्यान, वेस्ट बलर, फेयर प्ले अवार्ड र ईमर्जिङग प्लेयरबाट पनि सम्मानित गरिने छ ।



