उदयपुरको बेलका नगरपालिका ८ सेतीखोला नजिकै मदन भण्डारी राजमार्गमा बस दुर्घटना हुँदा २९ जना घाईते भएको छ । मंगलबार दिउँसो प्रदेश १–०२–००१ख ८२५३ नम्बरको बस चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किँदै थियो । अचानक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते २९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ । घाईत हुनेमध्ये १७ जनाको बेलका नगर अस्पताल र बाँकी १२ जनाको भने धरान घोपामा उपचार भैरहेको छ ।



बसका चालक सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १ भण्डारीटार निवासी ३५ वर्षीय शम्भु साह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको नियन्त्रणमा लिइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



