गुल्मीमा सामुहिक रुपमा चक्लाबन्धी विधिबाट सुन्तला र ओखर खेती सुरु गरिएको छ । बाँझिएका जग्गामा राज्यको सहयोगमा स्थानीयले ओखर र सुन्तला खेती सुरु गरेका हुन् ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेमा स्थानीय चार जनाले १ सय २० रोपनी जग्गामा ५ सय वटा ओखरका बिरुवा लगाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीको ५० प्रतिशत सहयोगमा १४ लाख रकम खर्चिएर वर्षौं देखि बाँझिएको जग्गामा ओखर लगाईएको हो । अन्य बाली भन्दा तुलनात्मक रुपमा फाइदा हुने र बादरले कम क्षेति पुराउने हुँदा ओखर खेती सुरु गरिएको किसानहरु बताउँछन् ।



त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा त्रिपक्ष लगानीमा सुन्तला खेती सुरु गरिएको छ । परियोजना कार्यान्वयन इकाई गुल्मीको ५० प्रतिशत, सत्यवती गाउँपालिका र १३ जना किसानको २५-२५ प्रतिशत १८ लाख पचास हजार लगानीमा दुई सय रोपनी क्षेत्रफलमा ३४ सय सुन्तलाका बिरुवा लगाईएका छन् । २० वर्ष अघि देखि यस क्षेत्रमा सामान्य रुपमा सुन्तला खेती गर्दै आएपनि पछिल्लो समय सरकारले दिएको सहयोगले उत्साहका साथ काम गर्ने वातावरण मिलेको उनीहरुको भनाई छ ।
सरकारको सहयोग र स्थानीयको दृण इच्छाले वर्षौं देखि बाँझिएको जग्गा सदुपयोग भएको छ भने आम्दानी बाटो समेत थपिएको छ । बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउँदा उत्पादनमा बृद्धि हुने छ । गुल्मीमा पछिल्लो दुई आर्थिक वर्षमा २ सय ८८ हेक्टर क्षेत्रफलमा यो विधिबाट विभिन्न प्रजातिका फलफूल र तरकारी खेती गरिएको छ ।



