काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको स्थायी भवन ढुंगेअड्डामा बन्ने भएको छ । चन्द्रागिरि नगरपालिकाको सीमानासँगै कीर्तिपुर नगरपालिका–२ ढुंगेअड्डामा नेकपा एमालेको पार्टी कार्यालयको नयाँ भवन बनाउन लागिएको हो । भवन ११ रोपनी क्षेत्रफलमा बन्न लागेको र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भवन शिलान्यास गर्नुहुनेछ ।
अहिले एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा छ । बागमती र मनहरा नदीमा बाढी आउँदा कार्यालय पटक–पटक डुबानमा पर्ने भएपछि पार्टीको भवन कीर्तिपुरमा बनाउन लागिएको हो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एमालेले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।



यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो । पासाङ ल्हामु प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा तेस्रो पक्ष एमाले लाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो।
त्यसपछि केन्द्रीय कार्यालय २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिएको थियो। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो। यद्यपि यो जग्गा पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भाडामा लगाएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो ।
एमालेले केन्द्रीय कार्यालय बनाउन एमालेले अहिले सदस्यहरूबाट १ सय रुपैयाँ उठाउँदै आएको छ । भूकम्पले खण्डहर बनाएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको थियो ।



