काठमाडौं । सहरकारी ठगी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारीको ऋण व्यवसायी मीनबहादुर गुरुङले तिरेको खुलेको छ । गुरुङले छोटो समयमै झण्डै एक करोड सहकारीमा डिपोजिट गराएपछि यसको स्रोत खोजी भइरहेको थियो । तर, त्यो रकम भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले तिरिदिएको खुलेको हो ।
सहकारी छानबिन विशेष समितिले छानबिनको प्रक्रिया जारी राखेकै समयमा कांग्रेस उपसभापति धनराज गुरुङले पनि सहकारीको रकम हिनामिना गरेको तथ्य बाहिरियो । कांग्रेस उपसभापति गुरुङ र उनकी सम्बन्ध विच्छेद गरेकी भनिएकी पत्नी ज्योति गुरुङले ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर नतिरेको भेटिएको थियो । चौतर्फी आलोचना भएपछि गुरुङले संसदमा बोल्दै उक्त ऋण पत्नीले लिएको र आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । तर, गुरुङले सम्बन्धी विच्छेद भएकी श्रीमतीको ऋण तिरिरहेको तथ्य बाहिरियो । अझ सम्बन्ध विच्छेद पनि शंकास्पद रहेको छ । किनकी २०७९ मा निर्वाचन आयोगमा गुरुङले बुझाएको विवरणको श्रीमतीको नाम लेख्ने ठाउँमा ज्योतिकै नाम छ । त्यो भन्दा शंकास्पद त २०८१ वैशाख १७ र ६ जेठ एकै पटक ठूलो रकम गुरुङले सहकारीमा जम्मा गरेका थिए । १७ वैशाखमा १४ लाख दरका पाँच वटा चेक र १२ लाख २६ हजार ९ सय १४ रुपैयाँको एउटा चेकमार्फत् सहकारीमा गुरुङले ऋण तिर्नुभएको थियो । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको चेकमार्फत् एकैदिन ८२ लाख २६ हजार ९ सय १४ रुपैयाँ सहकारीमा डिपोजिट भएको थियो ।



यस्तै जेठ ६ गते ८ लाख ८९ हजार ७२० रुपैयाँ सोही बैंकको सोही खाताबाट जम्मा भएको थियो । तर, त्यो खाता धनराजको नभएर अरु कसैको भएको शंका गरिएको थियो । अहिले त्यो चेक धनराजको नभएर अरु कसैको भएको पुष्टि भएको छ । त्यो चेक त भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुरु गुरुङको रहेको भेटिएको छ । मीनबहादुरले पनि धनराजलाई पैसा दिएको स्वीकार गरेका छन् । आफूहरु नजिकको नातेदार भएकाले सहिछाप गरेर ऋण दिएको गुरुङले बताउँछन् ।
यसअघि धनराजले उक्त ऋण घर बचेर तिरेको बताउनुभएको थियो । तर, अहिले त्यो रकम मीनबहादुरमार्फत् तिरेको खुलेको छ । अझ शंकास्पद् त के छ भने धनराज कानूनमन्त्री हुँदा मीनबहादुर ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका थिए । पछि, धरौटीमा छुट्नुभयो । यही धनराज र मीनबहादुरबीच स्वार्थको लेनदेन भएको आशंका गरिएको छ । धनराजले छुटाउन सहयोग गर्ने र मीनबहादुरले आर्थिक सहयोग गर्ने समझदारी भएको आशंका गरिएको छ । तर, मीनबहादुरले भने यो अस्वीकार गरेका छन् । जे होस्, अहिले धनराजमाथि नैतिकताको प्रश्न खडा भएको छ ।



