काठमाडौं । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको आज बालुवाटारमा बसेको बैठकले सात बुँदे लिखित साझा धारणा सार्वजनिक गरेको छ ।
सरकारले एक सय दिनमा गरेको कामको स्वागत गरेका सत्तारुढ दलहरुले बाँकी अवधिमा सरकारले तय गरेका कामका योजनालाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् । सहकारीको रकम दुरुपयोगबारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन सुरु भएको भन्दै बैठकले अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रक्रियामा सबैको सहयोग आवश्यक पर्ने बताएको छ । कुनै पनि समस्याको लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै अराजकतालाई प्रोत्साहन नगर्न गठबन्धनको आग्रह छ ।



सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बैठकले निष्कर्ष निकालेको छ । सात दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् ।



