सुदूरपश्चिममा आजदेखि भूवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्व रहेको भूवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भूवा पर्व मनाउन लागेको हो । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भूवा महाभारतको पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचलन रहँदै आएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भूवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भूवा महाभारतको पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको हो ।



धनगढीमा बाजुरेली सेवा समाजले भूवा पर्व मनाउँदै आएको छ । भूवा पर्व धनगढी उपमहानगरपालिका– १ खुल्ला मञ्चमा सुरु भएको बाबुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले बताउनु भयो । उहाँले भूवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको बताउनु भयो । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहकोबीचमा प्रतिस्पर्धा गरिन्छ ।
भूवा पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको छ । यस पर्वमा पुरुष जतिकै महिलाहरुको पनि सहभागिता रहने गर्दछ । त्यस्तै भूवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ । टाउकोमा पघरी बाँध्नुपर्छ । पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको धामी बताउँनु हुन्छ ।
दसैंपछिको ठुलो पर्वको रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ । हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसङ्गतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।



