भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गर्न नेपालका विभिन्न जिल्लाका हजारौं तीर्थयात्रीहरु दैनिक रुपमा सहभागी भइरहेका छन् । नेपाल-भारतबीचको खुला सिमानाले महाकुम्भ स्नान गर्न नेपालीलाई सहज बनेको हो ।
जान-अन्जानमा मानवबाट भएको गल्तीलाई धार्मिक दृष्टिकोणले क्षमा याचनासहित सुधार्ने उद्देश्यका साथ अहिले प्रयागराजमा महाकुम्भ स्नान गर्न जाने तीर्थालुको संख्या बढ्दै गएको छ । पवित्र तीन नदी गंगा, जमुना र सरस्वतीको संगमस्थल हो प्रयागराज । यहाँ १४४ वर्षमा महाकुम्भ लागेको छ । नेपालका भारतीय सिमावर्ती मधेश प्रदेशदेखि पहाडी जिल्लासम्मका श्रद्धालुहरु महाकुम्भ स्नान गर्न प्रयागराज आएको तिर्थालुहरु बताउँछन् । प्रयागराजको प्रत्येक घाटमा नेपालीहरु भेटिन्छन्। सिमाका सहरहरूबाट विभिन्न साधनहरु प्रयोग गर्दै प्रयागराज पुग्ने उल्लेख्य भेटिने गरेका छन् । भारतीय साधनहरू र रेल प्रयोग गरेर जानेहरू पनि उल्लेख्य रहेका छन्।



हिन्दु धर्ममा कुम्भ र यसको विषेशता फरक फरक छ । चार किसिमको हुने कुम्भ अन्तर्गत वर्षेनि आयोजना हुनेलाई कुम्भ भनिन्छ भने ६ वर्षमा आयोजना हुनेलाई अर्धकुम्भ भनिन्छ । यस्तै १२ वर्षमा आयोजना हुनेलाई पुर्णकुम्भ र १ सय ४४ वर्षमा आयोजना हुनेलाई महाकुम्भ भनिन्छ । मानवको सरदर आयुभन्दा लगभग दोब्बर वर्षमा आयोजना हुने महाकुम्भमा स्नान गर्ने अवसर सबै मानवलाई नहुने भएकोले पनि अहिलेको महाकुम्भको आकर्षण बढेको हो ।
४५ दिने महाकुम्भ संगममा पवित्र स्नान गर्न आउने तिर्थालुको भीडलाई ब्यवस्थापन गर्न महाकुम्भ प्रशासनद्वारा आठ स्थायी घाटसहित कुल ४१ वटा स्नान घाट स्थापना गरिएको छ । मेलामा हराउने र वर्षाै अघि हराएका परिवाजन मिल्ने भनाइ यसवर्ष पनि यथार्थमा देखिएको छ । पुसी पुर्णिमादेखि सुरु भएको महाकुम्भ आउँदो महाशिवरात्रीको दिन सम्पन्न हुनेछ ।



