नेपाली राजनीति र पञ्चायती शासनविरुद्धको संघर्षका एक ऐतिहासिक पात्र, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। सोमबार काठमाडौँको दीर्घायु अस्पतालमा उपचारका क्रममा उनकाे निधन भयो।
नानीमैयाँ दाहाल २०३८ सालको राष्ट्रिय पञ्चायत चुनावमा जोगमेहर श्रेष्ठलाई पराजित गर्दै चर्चित उम्मेदवारको रूपमा उठ्नुभएको थियो। उहाँको विजयले पञ्चायत विरोधी जनमतको अभिव्यक्ति भएको थियो, जसले बहुदलीय व्यवस्थाको पक्षमा बलियो आवाज उठायो। पञ्चायतकालको विरोध गर्दै, उहाँको जितले काठमाडौँका सडकहरूमा बहुदल समर्थकहरूले विजय जुलुस निकाल्ने वातावरण सिर्जना गरेको थियो।



नानीमैयाँको चुनावी जितले पञ्चायती शासनविरुद्धको असन्तोषलाई प्रकट गरेको थियो, र उहाँको साहसिक कदमले बहुदलवादी आन्दोलनलाई थप प्रोत्साहन दिएको थियो। उहाँको संघर्ष र विद्रोही स्वभावले नेपाली राजनीति र समाजमा नयाँ दिशा दिएको थियो।
२०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्चको रूपमा निर्वाचित नानीमैयाँले राष्ट्रिय पञ्चायत सदस्यको रूपमा थप प्रभावशाली उपस्थिति जनाए पनि, पछि उहाँको राजनीति मुलधारमा रहन सक्नुभएको थिएन। तर उहाँको योगदान र साहसले नेपाली समाजमा आफ्नो स्थान बनाएको थियो।



