भारतको ओडिसास्थित केआईआईटी कलेजमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु पछि नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि उनीहरूलाई कलेज प्रशासनले कुटपिट गरी निष्कासन गरेको घटनाले नेपालमा चासो बढाएको छ। नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारले कूटनीतिक पहल बढाउने निर्णय गरेको छ।
सरकारी तहबाट पहल सुरु
मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकमा घटनाबारे गम्भीर छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली ले नेपाल-भारत अधिकारीहरूबीच समस्या समाधानका लागि समन्वय भइरहेको जानकारी गराउँदै अनुसन्धान प्रतिवेदन आएपछि थप कदम चालिने बताएका छन्।परराष्ट्रमन्त्री आरजु राणा देउवा ले नेपाल सरकारको पहलपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेज फर्कन आग्रह गरेको बताएकी छन्। साथै, दिल्लीस्थित नेपाली दूतावासबाट दुई सदस्यीय टोली ओडिसा पठाइएको छ।



के भएको थियो ओडिसामा ?
प्रकृति लम्साल ९२०० आइतबार कलेज होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनले अड्विक श्रीवास्तवद्वारा बारम्बार दुर्व्यवहार भएको भन्दै उजुरी दिँदा पनि कलेज प्रशासनले गम्भीरता नदेखाएको आरोप छ।
लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूले छानबिनको माग गर्दै आन्दोलन गरेपछि कलेज प्रशासनले कुटपिट गर्दै केहीलाई निष्कासन गरेको थियो। विद्यार्थीहरूले रेलवे स्टेशनसम्म लखेटिएको गुनासो गरेका छन्।
के भइरहेको छ अब ?
ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। दुई सुरक्षागार्ड पक्राउ, कलेजका केही कर्मचारी बर्खास्त। नेपाली विद्यार्थीहरूमाथि दमन गर्ने प्राध्यापकहरू माफी माग्दै भिडिओ सार्वजनिक गर्न बाध्य।
नेपाल सरकारले विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल अघि बढाइसकेको छ। नेपाल सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि समन्वय बढाउने र आवश्यक परे आगामी दिनमा कडा कदम चाल्ने संकेत गरेको छ।



